शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनीमै रहने व्यवस्था गर्न प्याब्सनको माग

काठमाडौं: शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई कम्पनीमै रहने व्यवस्था कायम राख्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले सरकारसँग माग गरेको छ ।

प्याब्सनले काठमाडौंमा पत्रकार सम्मेलन गरी निजी विद्यालयको लगानी सुनिश्चित गरी लगानीमैत्री वातावरणको सृजना गर्न आग्रह गरेको हो ।

प्याब्सनका महासचिव आरबी कट्टवालले शिक्षा विधेयकमा उल्लेख गरिएको कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक गुठीका रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने व्यवस्थाप्रति आपत्ति जनाउनुभयो ।

पछिल्लो समय पठन संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै प्याब्सनले विभिन्न छात्रवृत्ति कार्यक्रममा देखा परेका समस्या निराकरण गर्दै लक्षित वर्गसम्म पुर्‍याउनसमेत आग्रह गरेको छ ।

प्याब्सन आवद्ध २ हजार ३ सय ७० निजी विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी गराउँदै बाँकी विद्यालयहरु पनि विस्तारै कोषमा आवद्ध हुने प्याब्सनले जनाएको छ । प्याब्सनले विद्यालयहरु बाल शिक्षामैत्री हुनुपर्नेमा आफूहरु सजग रहेको पनि जनाएको छ ।