कागेश्वरी मनोहरा नगरपालिकाले मनायो ६८औं राष्ट्रिय सहकारी दिवस

थली: कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार ६८औं राष्ट्रिय सहकारी दिवस मनाएको छ । कागेश्वरी मनोहरा नगरपालिका सहकारी शाखाको आयोजनामा बुधबार एक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।

नगर प्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भएको कार्यक्रममा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सहकारी शाखा प्रमुख विश्वास ज्ञवाली, विभिन्न सहकारी अभियन्ता, कलाकारद्वय रामचन्द्र अधिकारी र सीपी पुडासैनी धतुरे र सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा नगर प्रमुख कार्कीले सहकारी संस्थाले नीति नियम र मापदण्ड पालना गर्नुपर्नेमा जोड दिनुभयो । राम्रा संस्थालाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई निरुत्साहन गर्ने नगरपालिकाको नीति रहेको बताउनुहुँदै मेयर कार्कीले सहकारी संस्थाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा सहकारी ठगीसम्बन्धी जनचेतनामूलक लघुचलचित्र ‘बचत’ प्रिमियर गरिएको छ । मातापिता प्रोडक्सन हाउसले निर्माण गरेको लघुचलचित्रको लेखन र निर्देशकमा सीपी पुडासैनीको रहेको छ ।