कागेश्वरी मनोहराद्धारा चाँगुनारायण नगरपालिकालाई १० लाख बराबरको स्वास्थ्य उपकरण सहयोग

काठमाडौं : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई विभिन्न स्वास्थ्य उपकरण सहयोग गरेको छ । कागेश्वरी मनोहराका नगर प्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीलाई १० लाख बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नु भएको हो ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेरो ल्यावसंगको सहकार्यमा अत्याधुनिक ल्याव सेवा शुरु भएको छ । कागेश्वरीले आफुसँग भएको एक थान क्लिया एनालाइजर मेसिन चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।

नगर अस्पतालमा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेल, मेडिकल सुपरिटेन्डेन अनमिका सिंह, अस्पतालका कार्यकारी निर्देशक डा। अर्जुन कार्कीसहित स्वास्थ्यसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरीका नगर प्रमुख कार्कीले स्वास्थ्यसँग सम्बन्धित सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले चाँगुनारायणका प्रमुख खत्रीमार्फत त्यहाँका सम्पूर्ण नगरवासीको स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्चस्तरको सेवा प्रदान गर्न नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले आगामी दिनमा दुई नगरपालिकाबीचको सम्बन्धलाई थप मजबुत पार्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहकार्य गर्ने लैजाने बताउनुभयो । उहाँले कागेश्वरीका प्रमुख आफ्नो राजनीतिक रुपमा अग्रज भएको बताउदै राम्रा कामहरुको अनुसरण गर्ने र नगरपालिकामा लागु गर्ने बताउनुभयो ।

यसअघि पनि कागेश्वरी मनोहरा नगरपालिकाले रामेछापको मन्थली नगरपालिकालाई ६० लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।