काठमाडौं : शिक्षा क्षेत्रलाई नै परिवर्तनको मुख्य आधार मान्दै, नगरले निशुल्क भर्ना, पाठ्यपुस्तक वितरण, पोशाक कार्यक्रम, पोषण कार्यक्रम जस्ता योजनाहरू सञ्चालनमा ल्याएको छ। विद्यालयमै बालमैत्री वातावरण निर्माण गर्दै शिक्षक तालिम, बाल अधिकार केन्द्रित पठनपाठन, बालबालिकाको अनुशासन र मानसिक स्वास्थ्यमा केन्द्रित कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। कमजोर आर्थिक अवस्था रहेका, अपाङ्गता भएका, वा अन्य जोखिममा परेका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन विशेष कार्यक्रम सञ्चालन गरिएको छ।
नगरपालिका स्तरमै बाल अधिकार संरक्षण समिति गठन गरिएको छ भने वडास्तरमा पनि बाल सरोकारवाला संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेका छन्। बालबालिकाका आवाजलाई सुन्ने, बुझ्ने र नीतिनिर्माणमा समावेश गर्ने उद्देश्यले बाल क्लवहरू सक्रिय छन्, जसले बालबालिकाको नेतृत्व विकासमा महत्त्वपूर्ण योगदान दिएको छ।

त्यस्तै, नगरले बालमैत्री पूर्वाधार निर्माणमा पनि समान रूपले ध्यान दिएको छ। विद्यालयमा बालमैत्री शौचालय, सुरक्षित खानेपानी, स्वच्छतामूलक अभ्यास, खेल मैदान, र पहुँचयुक्त संरचनाहरू बनाइएका छन्। यसले शारीरिक मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि बालबालिकाको सशक्तिकरणमा सहयोग पुर्याएको छ।
यसरी, बालबालिकालाई शिक्षाको अधिकार प्रदान गर्ने, निशुल्क र समावेशी शिक्षा सुनिश्चित गर्ने, शोषण र उपेक्षाबाट जोगाउने, तथा उनीहरूलाई सुरक्षित, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने यात्रामा कागेश्वरी मनोहरा नगरपालिका गम्भीर र प्रतिबद्ध छ। प्रतिबद्धता शब्दमा मात्र होइन, व्यवहारमा पनि प्रस्ट देखिन्छ।





