काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित काँडाघारी प्रहरी प्रभागको नवनिर्मित तेस्रो तल्लाको प्रहरी ब्यारेक भवनको भव्य उद्घाटन गरिएको छ । समारोहको विशेष अवसरमा नगरप्रमुख उपेन्द्र कार्की र काठमाडौं जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले संयुक्तरूपमा भवनको उद्घाटन गर्नुभयो ।

१५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो भवनमा कार्यालय प्रमुखका लागि छुट्टै कार्यकक्ष, ५ कोठा, २ सभाहल तथा आवश्यक शौचालय र स्नानगृहको व्यवस्था गरिएको छ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ को चालु आर्थिक वर्ष २०८१र८२ को बजेटबाट निर्माण कार्य अघि बढाइएको हो। ‘घुन्सा कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा लि’ ले डेढ महिनाको छोटो अवधिमा निर्माण कार्य सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कार्कीले यस भवन निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने निर्माण कम्पनी तथा समितिको खुलेर प्रशंसा गर्नुभयो । उहाँले नगरवासी र प्रहरी प्रशासनबीच सुमधुर सम्बन्ध विस्तार हुँदै गएकोमा खुसी व्यक्त गर्दै प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ नागरिक हितमा समर्पित भएर कार्य गर्न प्रेरित गर्नुभयो ।

प्रमुख कार्कीले भन्नुभयो, “नगरपालिकाले प्रहरी प्रशासनलाई निरन्तर साथ दिइरहेको छ। सवारी साधनको मर्मतदेखि तेल खर्चसम्म नगरले बेहोर्दै आएको छ। अब आवश्यक भौतिक पूर्वाधारहरूको पहिचान गरेर थप सहयोगको योजना अघि बढाइनेछ।”
उहाँले कागेश्वरी मनोहरालाई “उज्यालो शहर, सुरक्षित शहर” बनाउने दीर्घकालीन योजनाबारे पनि जानकारी गराउँदै नगरका मुख्य सडक, भित्री गल्ली तथा चोकहरूमा गुणस्तरीय बत्ति र सिसिटिभी जडान गरिने जानकारी दिनुभयो । यस महत्त्वाकांक्षी योजनाको लागि करिब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने डीपीआर तयार भइसकेको र बहुवर्षीय ठेक्का प्रणालीमार्फत यो योजनाको कार्यान्वयन यही वर्षबाट सुरु गरिने बताउनुभयो ।
प्रहरी–जनसम्बन्ध सुदृढ बनाइँदै
सोही कार्यक्रममा एसएसपी विश्व अधिकारीले प्रहरी र जनताको सम्बन्धलाई “नङ र मासुको” रूपमा व्याख्या गर्दै नागरिक र जनप्रतिनिधिको साथले प्रहरीलाई थप जिम्मेवार र सेवा–मुखी बनाएको बताउनुभयो । प्रहरी मेरो साथी अभियानलाई अझ प्रभावकारी बनाउँदै, काँडाघारी प्रहरी प्रभागले सेवा चुस्त र विश्वासिलो बनाउन तल्लीन हुने बताउँदै उहाँले नगर प्रमुख कार्कीको नेतृत्वको खुलेर प्रशंसा गर्नुभयो ।
एसएसपी अधिकारीले भन्नुभयो, “मैले कार्यभार सम्हालेपछि पहिलो पटक यति जनप्रिय र उत्तरदायी जनप्रतिनिधिसँग सहकार्यको अवसर पाएको छु।”
स्थानीय सहभागिता र प्रहरीको संकल्प
प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख, प्रहरी नायब उपरीक्षक हरि खतिवडाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरप्रवक्ता एवं वडा नं ८ का अध्यक्ष हरिभक्त पुडासैनी, वडा नं ९ का अध्यक्ष अनिल थापा, वडा नं. ७ का अध्यक्ष भीमसेन थापा र प्रहरी निरीक्षक राजन थापाले पनि आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
विशेष रूपमा वडा ७ का अध्यक्ष थापाले काँडाघारी प्रहरी प्रभाग स्थापना प्रक्रियामा आइपरेका जटिलता, चुनौती र हालसम्मका उपलब्धिहरूबारे समिक्षात्मक प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा गान्धी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गया प्रासद उपाध्याय, जनप्रतिनिधिहरु, स्थानीय तथा प्रहरीहरु सहभागि हुनुहुन्थ्यो ।





