कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थली चोकमा फाल्चा निर्माण सुरु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थली चोकमा समुदायका लागि महत्वपूर्ण मानिने ‘बिस्राम स्थल फाल्चा’ निर्माण कार्य सुरु भएको छ ।

स्थानीय आवश्यकता र जनसहभागितालाई प्राथमिकतामा राखी वडा नं. ५ को उपभोक्ता समितिमार्फत निर्माण कार्य अघि बढाइएको हो ।

करिब २५ लाख रुपैयाँ लागतमा बन्न लागेको सो फाल्चा तिहारअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको वडा अध्यक्ष शंकर पाण्डेले जानकारी दिनुभयो। सो फाल्चाले थली क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र समुदायमैत्री सार्वजनिक स्थलका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

स्थानीय बासिन्दाहरूका लागि मेलमिलाप, बैठक लगायतका गतिविधि सञ्चालन गर्न सहज हुनेगरी संरचना निर्माण भइरहेको वडा कार्यालयले जनाएको छ ।

स्थानीयको सुझाव र सक्रिय सहभागितासहित निर्माण कार्य अघि बढाइएको वडा अध्यक्ष पाण्डेको भनाई छ । यसले समुदायमा आवश्यक संरचना र सुविधा थप गर्दै स्थानीय सौन्दर्य र सामाजिक एकता बलियो बनाउन मद्दत पु¥याउने विश्वास लिईएको छ ।

फाल्चा निर्माण सम्पन्न भएपछि सामाजिक, सांस्कृतिक र धार्मिक महत्व अझै बढ्ने अपेक्षा गरिएको छ ।