वित्तीय सुशासनमा कागेश्वरी मनोहरा नगरपालिकाको फड्को, अघिल्लो वर्षभन्दा २० अंक भन्दा बढीले सुधार

काठमाडौं (थली), १८ भदौ : कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए) मा ८७ अंक प्राप्त गर्दै फड्को मारेको छ। अघिल्लो वर्ष ६६.५ अंकमा सीमित रहेको नगरपालिका यस वर्ष २० अंकभन्दा बढीले सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएको हो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मूल्यांकन गरिने पाँच वटा स्कोरमध्ये लेखांकन तथा प्रतिवेदनमा ८८.२४ अंक प्राप्त गरेको छ भने राजस्व ब्यवस्थापनमा ८२.३५, कार्यान्वयन क्षमता तथा ब्यवस्थापनमा ८९.६६ अंक पाएको छ । त्यस्तै, योजना, बजेट तथा कार्यक्रम ब्यवस्थापनमा ९७.६२ र अनुगमन, मूल्यांकन तथा लेखापरीक्षमा ७१.८८ अंक प्राप्त गर्दै औसतमा ८७ अंक प्राप्त गरेको हो ।

स्थानीय तहमा वित्तीय सुशासन, पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने उद्देश्यले गरिने एफआरए मूल्याङ्कनमा कागेश्वरीले पाएको यो अंक अहिलेसम्मकै उत्कृष्ठ हो । योजना निर्माण, बजेट कार्यान्वयन, लेखा व्यवस्थापन, राजस्व संकलन, अनुगमन र लेखापरीक्षण लगायतका सूचकहरूमा नगरपालिकाले देखाएको सुधारले समग्र संस्थागत क्षमता बलियो बन्दै गएको देखिएको छ ।