काठमाडौं : मनकामना टोल सुधार समाजले आफ्नो छैटौँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री रोहन पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि कागेश्वोरी मनोहरा नगरपालिका–०७ का कार्यवाहक अध्यक्ष भक्त थापा रहनुभएको थियो।

सभामा काडाँघारी प्रहरी प्रभागका वरिष्ठ सहायक निरीक्षक लक्ष्मी प्रसाद पाठक, रिभर साइड टोल सुधार समाजका अध्यक्ष छबि लाल ओझा, शीतल नगर र ओमनगर टोल सुधार समाजका प्रतिनिधिज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, टोलका अग्रज, भद्रभलाद्मी र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिभक्त थापाज्यूले शान्तिको प्रतीक फूलमा पानी अर्पण गरी गर्नु भएको थियो। सभामा समाजका सचिवले आर्थिक वर्ष २०८१/८२ को प्रगतिविवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई उपस्थित टोलवासीहरूले सर्वसम्मतिले पारित गरेका छन्।

वार्षिक सभाको विशेष अवसरमा समाजले ८० वर्ष पूरा गर्नुभएका जेष्ठ नागरिकहरूलाई दोसल्ला र नगदसहित सम्मान गरेको छ। साथै, समाजले धोमा जगत् वृद्धाश्रमका आमाबुबाहरूसँग भेटघाट गर्दै खाजा वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ।

कार्यक्रमले टोलभित्र सामाजिक एकता, सहयोग र सेवा भावलाई अझ सुदृढ बनाएको बताइएको छ। सभाको अन्त्यमा अध्यक्ष पौडेलले कार्यक्रममा सहभागी सबै अतिथिहरू, सहयोगीहरू र टोलवासीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै “हाम्रो टोल, राम्रो टोल” भन्ने नारा पुनः उच्चारण गर्नुभयो।








