काठमाडौं । मानव मष्तिस्कको विकासको सुरुवात आमाको गर्भवाट नै हुन्छ । प्रारम्भिक वर्षहरुमा विशेष गरेर पाँच वर्ष अगाडि मानव मष्तिस्कको नब्बे प्रतिशत विकास हुने गर्दछ । विकसीत मुलुकहरुमा यस्ता अनुसन्धानहरुलाई आधार मानेर प्रारम्भिक वालविकास कार्यक्रमहरुको गुणस्तर बढाई सान्दर्भिक बनाउन थुप्रै लगानी गर्ने गरिएको छ ।
प्रारम्भिक बाल विकासको अवस्थाको बारेमा स्पष्ट वास्तविकता थाहा हुँदाहुँदै पनि नेपालमा भने सो विषय प्राथमिकतामा पर्न सकेको छैन । तथापी सो कुरालाई गहन मनन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाले रातो बंगला फाउण्डेशनसंगको सहकार्यमा इसीडी कक्षा सुधारका लागि सार्थक सिकाई कार्यक्रम अघि बढाएको छ ।
नगरपालिकामा रहेका १५ वटा सामुदायिक विद्यालयमा सार्थक सिकाई कार्यक्रम अघि बढेको छ । वि।सं २ हजार ७९ साल मंसीर देखी रातो बंगलासंगको सहकार्यमा नगरपालिकामा कार्यक्रम अघि बढेको हो । नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा रहेका प्रारम्भिक उमेरका बालबालिकाहरुसंग प्रत्यक्ष जोडिने शिक्षक शिक्षीकाहरुलाई सार्थक बाल सिकाई कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिन्छ । संगै कक्षा कोठा र बालबालिकाहरु संलग्न रहने वातावरणलाई बालमैत्री बनाईन्छ । कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई व्यवहारीक शिक्षा दिनु पर्छ भन्ने विषयलाई आधार मानेर तालिम प्रदान गरिन्छ ।
सार्थक सिकाई कार्यक्रमले परम्परागत शिक्षा प्रणालीलाई चिर्दै व्यवहारिक शिक्षामा जोड दिन्छ । विगतमा बालबालिकालाई कसरी पढाउने भन्ने अन्योलमा पर्ने शिक्षकहरु तालिम पाएपछि तालिका मिलाएर बालबालिकालाई सिकाउन थालेका छन् । शिक्षण सामाग्रीहरु पर्याप्त भएपछि थप सहज भएको छ ।
विगतमा परम्परागत विधीबाट बालबालिकाहरुलाई अध्यापन गराउदै आएका शिक्षक शिक्षिकाहरुमा तालिम पश्चात परिवर्तन आएको छ । तालिममा सिके अनुसार अध्यापन गराउँदा बालबालिकाहरुमा पनि निकै सकारात्मक परिवर्तन आएको छ । घोकन्ते विद्यालाई छोडी खेल्दै, रमाउँदैं सिक्दा बालबालिकाहरुले थप उत्साहित भएर अध्ययनमा अभिरुची देखाएका छन् ।
सैद्धान्तीक शिक्षालाई परिमार्जन गर्दै खेल्दै रमाउदैँ प्रयोगात्मक शिक्षालाई यस कार्यक्रमले प्रोत्साहन गर्छ । बालबालिकाको सर्वागिण विकासमा खेल विधीले निकै महत्व राख्छ । कार्यक्रमले सोही अनुरुपको सिकाईका लागि विभिन्न तालिमहरु संचालन गर्छ । तालिमले बालबालिकालाई सिकाउने विधीमा निकै परिवर्तन आएको शिक्षक शिक्षीकाहरु बताउँछन् ।
इसीडी कक्षा सुधारका लागि विगत डेढ वर्ष अघि रातो बंगलासंगको सहकार्यमा नगरपालिकामा जारी बाल सिकाई कार्यक्रम निकै प्रभावकारी भएको छ । शिक्षकहरुमा तालिमले उत्साह थपिएको छ । बालबालिकाहरुले बालमैत्री कक्षा कोठामा खेल्दै रमाउँदै सिक्ने अवसर पाएका छन् ।
नगर प्रमुख उपेन्द्र कार्कीले पछिल्लो समय यसको प्रभावकारीता बढ्दै गएको र सामुदायिक विद्यालयमा अभिभावक तथा विद्यार्थीको आकर्षण बढिरहेको बताउनुहुन्छ ।