काठमाडौं, कात्तिक २४: स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष राम प्रसाद पौडेल पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई) तथा अन्तराष्टिय सार्वजनीक सेवा नेपाल च्याप्टरको उपाध्यक्षमा चयन हुनु भएको छ।
पिएसआई विश्वका १६२ देशका सार्वजनिक सेवा निकायमा कार्यरत कर्मचारीहरूको साझा अन्तर्राष्ट्रिय संगठन हो, जसले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारीहरूको अधिकार, सुरक्षा र पेशागत हितका लागि विश्वव्यापी रूपमा काम गर्दै आएको छ।
नेपाल च्याप्टरको चौथो अधिवेशनबाट स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष पौडेल उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । पौडेल कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत सञ्चालीत मूलपानी नगर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत समेत हुनुहुन्छ ।
उपाध्यक्षमा निर्वाचित भएपछि पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भन्नु भएको छ, “मेरो पहिलो प्राथमिकता र कर्तव्य कागेश्वरी मनोहरा नगरपालिकाका नगरवासीहरूको स्वास्थ्य र हितमा मेयरज्यूले दिनुभएको जिम्मेवारी नै हो। नेपालभरका स्थानीय तहका ९५ हजारभन्दा बढी कर्मचारीहरूको पेशागत हकहितमा आवाज बुलन्द गर्न साथिहरूले देखाउनुभएको विश्वासप्रति म आभारी छु।”

ृउहाँले सम्बन्धित बैठक वा कार्यक्रमहरूमा सहभागिता जनाउँदा पनि नगरपालिकाको नियमित कार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
“सकेसम्म शुक्रबार र शनिबार मिलाएर, करिब छ महिनामा एकपटक मात्र यस्ता कार्यक्रममा सहभागी हुनेछु,” उहाँले भन्नुभयो । उहाँले नयाँ जिम्मेवारीलाई जिम्मेबारीबोध, पारदर्शिता र सेवा भावका साथ पूरा गर्ने दृढता व्यक्त गर्नु भएको छ ।





