कागेश्वरी मनोहरा (काँडाघारी) : कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अक्षरा स्कुलले रात्रीकालीन ड्युटीमा खटिने प्रहरीहरूको सुरक्षालाई ध्यानमा राखी काँडाघारी प्रहरी प्रभागलाई रिफ्लेक्टिभ बेल्ट (Reflective Belt) हस्तान्तरण गरेको छ।
कार्यक्रममा करिब ४५ थान रिफ्लेक्टिभ बेल्ट (Reflective Belt) हस्तान्तरण गरिएको हो। उक्त सामग्री नगर प्रमुख उपेन्द्र कार्की र स्कुलका सञ्चालक राधेश्याम खड्काले संयुक्त रूपमा प्रभाग प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र राईलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख कार्कीले विद्यालय र समुदायबीचको सहकार्यले सुरक्षाप्रति जनचेतना अभिवृद्धि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजका हरेक क्षेत्रमा सहकार्यको भावना बढ्दै जाँदा मात्र सुरक्षित र समृद्ध नगरपालिका निर्माण सम्भव हुन्छ।”
स्कुलका सञ्चालक खडकाले विद्यालयले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो ।

रात्रीकालीन समयमा प्रहरीहरूले ड्युटी गर्ने क्रममा दृश्यता बढाउन र सडक दुर्घटनाको जोखिम घटाउन रिफ्लेक्टिभ बेल्टको प्रयोगले सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रहरी निरीक्षक राईले विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै यस किसिमको सहयोगले प्रहरीलाई काम गर्न अझ आत्मविश्वास र सुरक्षा प्रदान गर्ने बताउनुभयो । कार्यक्रममा गान्धी माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्याय शिक्षक–शिक्षिका, विद्यार्थी अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।





