गुड डे एकेडेमीका विद्यार्थीको कागेश्वरी मनोहरा नगरपालिकामा अध्ययन–अवलोकन भ्रमण

कागेश्वरी मनोहरा नगरपालिका — गुड डे एकेडेमी, गोठाटारमा अध्ययनरत साना विद्यार्थीहरू तथा शिक्षक–शिक्षिकाले कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासनिक भवनमा आयोजना गरिएको अध्ययन–अवलोकन भ्रमण सम्पन्न गरेका छन्।

नगरपालिकामा दैनिक रुपमा हुने प्रशासनिक काम कारबाही, सेवा प्रवाह र न्यायिक कार्यविधिसम्बन्धी ज्ञान हासिल गर्ने उद्देश्यले उक्त भ्रमण आयोजना गरिएको हो।

भ्रमणका क्रममा सहभागी विद्यार्थी तथा शिक्षक–शिक्षिकाले नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक शान्ता थापा, न्यायिक समिति पदाधिकारी, कानुनी सल्लाहकार तथा कर्मचारीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका थिए।

अन्तरक्रियामा विद्यार्थीहरूले स्थानीय शासन, न्यायिक समितिको कार्यक्षेत्र, प्रशासनिक संरचना तथा नगरपालिकाको सेवा प्रवाह प्रक्रियाबारे जिज्ञासा राख्न पाएका थिए।

उपप्रमुख थापाले विद्यार्थीहरूलाई स्थानीय सरकार कसरी सञ्चालन हुन्छ, नागरिकलाई प्रदान गरिने सेवाहरू कुन–कुन हुन् र न्यायिक समितिको भूमिका के हो भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।