कागेश्वरी मनोहरामा इसिडी कक्षामा सुधार, बालबालिकामा सिकाइ उत्साह बढ्यो

कागेश्वरी मनोहरा (थली)– नगरपालिका र रातो बंगला स्कुलबीचको सहकार्यले प्रारम्भिक बाल विकास (ECD) कक्षाहरूमा उल्लेखनीय सुधार ल्याएको छ।

२०७९ मंसिरदेखि पाँच वर्षे अवधिका लागि सुरु गरिएको साझेदारीले तीन वर्षमा बालकक्षाको संख्या २१ बाट ३५ पुर्‍याएको छ। ‘Learning through play’ विधि अपनाउँदै शिक्षकहरूको क्षमता अभिवृद्धि, बालमैत्री कक्षा संरचना, सिर्जनात्मक खेल सामग्री र अभिभावक संलग्नता बढाउने काम सफल भएको प्रतिवेदनमा उल्लेख छ।

नगर प्रमुख उपेन्द्र कार्कीले कार्यक्रममा बालबालिकाको प्रारम्भिक सिकाइ गुणस्तरमा एकरूपता ल्याउने र अभिभावकको विश्वास बढाउने काममा यो पहल महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले रातो बंगला विद्यालयका प्रतिनिधिहरूले सामुदायिक विद्यालयसँगको साझेदारी दीगो बनाउँदै प्रभावकारी सिकाइ मोडेलहरू विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडा नंं १ का वडाध्यक्ष मकुन्द गजुरेलले सबैको सामूहिक प्रयासले सिकाईमा सुधार आएको र अझै सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

रातो बङ्ला फाउण्डेसनकी अध्यक्ष डा शान्ता दिक्षितले सहकार्यसँगै सैदान्तिक शिक्षालाई प्रयोगात्मक शिक्षामा रूपान्तरण गर्दै सामुदायिक विद्यालयमा बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने वातावरण सिर्जना भएकोमा खुसी ब्यक्त गर्नुभयो ।

सो अवसरमा फिल्ड अधिकृत कविता पुडासैनी, अभिभावक अनिता रिखम, विद्यालय व्यवस्थापन समितिका तर्फबाट गान्धीका अध्यक्ष गया प्रसाद उपाध्याय, डा धुव्र आचार्य, आनन्द भैरव विद्यालय प्रधानाध्यापक सरु कार्की, नगर शिक्षा समितिका सदस्य श्रीराम दाहाल र कुन्दन आचार्यले मन्तब्य राख्दै कार्यक्रमको प्रभाव र योगदानको सराहना गनुभयो । कार्यक्रम सञ्चालन शिक्षा शाखाकी रोशनी आचार्यले गर्नु भएको थियो।