मूलपानी (कागेश्वरी मनोहरा) : लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा दिदी फाउण्डेशनले “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आर्ट हिलिङ थेरापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।कार्यक्रमले प्रविधि र कलाको सदुपयोग गरी हिंसाबाट पीडित महिलाहरूको मनो-मानसिक उपचार र सशक्तिकरणमा जोड दिएको हो।

कार्यक्रममा सहभागी महिलाहरू तथा किशोरीहरूले चित्रकला, रंग, संगीत र अन्य सिर्जनात्मक गतिविधिमार्फत आफ्ना भावना अभिव्यक्त गर्ने अवसर पाए। यस्ता कला–आधारित उपचारात्मक गतिविधिले हिंसा, डर, तनाव र दुःखजस्ता अनुभूतिहरूलाई कम गर्न मद्दत गर्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको थियो।

प्रशिक्षकहरूले सुरक्षित, आत्मीय र भरोसायोग्य वातावरण सिर्जना गर्दै सहभागीलाई आत्मबल, आत्मविश्वास र मानसिक सुदृढता बढाउने गरी मार्गदर्शन गरेका थिए। साथै, सहभागीहरूलाई अनलाइन सुरक्षा, डिजिटल माध्यममा हुने सम्भावित हिंसा र प्रविधिको जिम्मेवारीपूर्ण प्रयोगबारे पनि सचेत गराइएको थियो ।

कार्यक्रममा वडा नंं ६ का वडाध्यक्ष प्रकाश फुयाल, कार्यपालिका सदस्य तथा वडा नंं ६ बाट निर्वाचीत जनप्रतिनिधि रुपमती सापकोटा, महिला बालबालीका तथा समाज कल्याण शाखा प्रमुख सविना श्रेष्ठले प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा वडाध्यक्ष फुयालले दिदी फाउन्डेसनले यस्ता धेरै महिलाहरुको लागि आय आर्जनका काम गरि नगरमै नमूना कार्य गर्दै आइरहेको बताउनुभयो ।

दिदी फाउण्डेशनले आगामी दिनमा समुदायका महिला तथा जोखिममा रहेका समूहका लागि यस्ता उपचारात्मक, ज्ञानमूलक र सशक्तिकरणमुखी कार्यक्रमहरूलाई अझ विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ ।






