कागेश्वरी मनोहरामा खोप छुट बालबालिका खोजी अभियान, महिला स्वास्थ्य स्वयंसेविका घरदैलोमा

थली, पौष, १ : कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गत खोपबाट छुटेका बालबालिकाको पहिचान तथा खोप सुनिश्चित गर्ने उद्देश्यले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिएको छ।

नगरपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार आ.व. २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत शहरी, विशेष समुदाय, उद्योग तथा निर्माण स्थल, जोखिम समूह र सीमा क्षेत्रमा खोप छुट भएका बालबालिकाको पहिचान गरी खोप लगाउने व्यवस्था मिलाइएको हो।

यस अभियान अन्तर्गत नगरभित्रका सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू पौष २ देखि ९ सम्म परिचालित भई घरदैलो सर्वेक्षणमार्फत खोप छुट बालबालिकाको तथ्यांक संकलन तथा खोप सुनिश्चित गर्ने कार्यमा सक्रिय रहनेछन्।

अभियानको लक्षित समूह ० देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिका रहेका छन्। नगरपालिकाले सर्वेक्षणका क्रममा स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक सहयोग गर्न सबै नगरवासीमा अनुरोध गरेको छ।

नगरपालिकाका अनुसार यो अभियानले बालस्वास्थ्य प्रवर्द्धन, रोगको जोखिम न्यूनीकरण तथा पूर्ण खोप सुनिश्चिततामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।