हरहरमहादेव, ११ पौष :कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा स्थापित शिवम मार्गी एकीकृत महिला समाज सामाजिक तथा मानवीय सेवामा सक्रिय रूपमा अघि बढिरहेको छ। संस्थाले शुक्रबार राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा उत्कृष्ट सामाजिक कार्य सम्पन्न गरेको छ।

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ र ९ को समन्वयमा आयोजित निःशुल्क आँखा परीक्षण कार्यक्रम वडा नं. ९ स्थित हनुमान मन्दिर ज्येष्ठ नागरिक समाज र गोठाटार ज्येष्ठ नागरिक समाजमा आबद्ध ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी सम्पन्न गरिएको हो।

कार्यक्रममा ज्येष्ठ नागरिक बुबाआमाहरू १५८ जना तथा अन्य उमेर समूहका ३७ जना गरी कुल १९५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा मोतिबिन्दु देखिएका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गर्ने योजना समेत रहेको जानकारी आयोजक संस्थाले दिएको छ।

शिवम मार्गी एकीकृत महिला समाजकी अध्यक्ष गीता अर्याल ज्ञवालीले सामाजिक तथा मानवीय कार्यसँगै महिलाको सर्वोत्तम विकासका लागि संस्था निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो।

उक्त कार्यक्रममा वडा नं. ७ र ९ का वडा अध्यक्षहरू, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

हनुमान मन्दिर ज्येष्ठ नागरिक समाजका अध्यक्ष विष्णुबहादुर कार्कीले शिवम मार्गी एकीकृत महिला समाजले समाजमा रहेका ज्येष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य सेवा र उनीहरूको ज्ञान, अनुभव तथा सीपबाट सिक्नुपर्छ भन्ने सन्देश दिएको उल्लेख गर्दै संस्थाको खुलेर प्रशंसा गर्नुभयो।

कार्यक्रमका सहभागी ज्येष्ठ नागरिकहरूका लागि खाजाको व्यवस्था समेत गरिएको शिवम मार्गी एकीकृत महिला समाजले जनाएको छ।






