कागेश्वरी मनोहरा नगरपालिकामा ‘कपडा बैंक’ को शुभारम्भ

थली : कागेश्वरी मनोहरा नगरपालिकामा कपडा बैंकको शुभारम्भ गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख उपेन्द्र कार्की र महानायक राजेश हमालले कपडा बैंकको शुभारम्भ गर्नुभयो ।

अब प्रयोगमा नआएका कपडा र झोलालाई नगरपालिकाको मूल ढोका (गेट) मा रहेको ‘कपडा बैंक’ मा लगेर जम्मा गर्न सकिनेछ । यस्ता संकलित कपडा र झोलालाई ‘क्लोथ एन्ड फुड’ बैंकले ‘रिसाइकल’ (पुन चक्रणं) गर्नेछ । रिसाइकल गरिएका कपडा एवं झोलालाई आकर्षक ‘प्याकेज’ गरी बैंकले आफ्ना ‘शो रुम’मा राख्नेछ । आवश्यक पर्ने जो कोहीले ‘शो रुम’मा गई यस्ता कपडा र झोला निःशुल्क लिन सक्नेछन् ।

नगर प्रमुख कार्कीले नगरभित्रका सबै क्षेत्रलाई समेट्ने गरी कपडा बैंकलाई वडा वडामा विस्तार गरिने बताउनुभयो । यो कार्यक्रम अत्यन्तै आवश्यक रहेकोमा जोड दिनुहुँदै मेयर कार्कीले यसलाई अगाडि बढाउन अन्य पालिकालाई समेत आग्रह गर्नुभयो ।

महानायक हमालले कपडा बैंकको शूरुवात भएपछि सबै क्षेत्रबाट सहयोग मिलीरहेको बताउँदै यसले विपन्न समुदायलाई बढी फाइदा हुने बताउनुभयो । ‘जहाँ जहाँ बाट यो कार्य शुरुवात भएको छ, सबै ठाउँबाट सहयोग मिलेको छ र सबै उत्साहित हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

‘क्लोथ एन्ड फुड’का अध्यक्ष कमल जिसीले प्रयोगमा नआएका कपडा संकलन गरेर ‘रिसाइकल’ गरी विपन्न तथा गरिब मानिसमाझ पु¥याउने उद्देश्यका साथ अभियान सुरु गरिएको बताउनुभयो ।

उहाँका अनुसार बैंकले ‘रिसाइकल’ लागि बुटवल उपमहानगरपालिकामा कारखाना सञ्चालनमा ल्याइएको छ भने १६० स्थानीय पालिकासँग सहकार्य गरिएको छ ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पुस्प राज ढकाल, वडा नंं १ का वडाध्यक्ष मकुन्द गजुरेल, ३ का वडाध्यक्ष राममणी पुडासैनी, ४ का वडाध्यक्ष धन श्रेष्ठ, ७ का वडाध्यक्ष भिमसेन थापा, ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी र योजना शाखा प्रमुख सुदीप लामिछाने लगायत जनप्रतिनिधिहरुले यो अभियान अत्यन्तै राम्रो भएको भन्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।