कागेश्वरी मनोहरामा पोलियो खोप विशेष अभियान: दुई दिनमै १२ हजार ४ सय बालबालिकालाई पोलियो थोपा खुवाइयो

मूलपानी: कागेश्वरी मनोहरा नगरपालिकामा बिशेष पोलियो खोप अभियान उत्साहजनक रुपमा अगाडि बढेको छ । नगरका विद्यालय र टोल टोलमा पुगेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुमार्फत ५ वर्ष मुनिका बालबालिकाहरुलाई पोलियो थोपा खुवाउने कार्य जारी छ ।

स्वास्थ्य शाखाका अनुसार पहिलो दिन ७ हजार ९ सय १८ जनालाई पोलियो थोपा खुवाइएको छ भने दोस्रो दिन बिहीबार ४ हजार ४ सय ३० जनालाई खुवाइएको छ ।

बुधबारबाट शूरु भएको पोलियो खोप अभियान शनिबार सम्म चल्नेछ । नगरभित्रका १२ हजार ४ सय ३० जना बालबालीकालाई पोलियो थोपा खुवाउने लक्ष्य राखिएकोमो दुई दिनमै १२ हजार ३ सय ४९ जनालाई खुवाईसकिएको छ ।

डाँछी स्वास्थ्य चौकी प्रमुख प्रर्मिला भट्टराई यो पटक लक्ष्य भन्दा निकै बढेको बताउनुहुन्छ । कागेश्वरी मनोहरामा अत्याधिक मात्रा बसाईसराई र यो शैक्षिक सत्रमा विद्यालयमा विद्यार्थी संख्या थपिएका कारण पनि लक्ष्य भन्दा माथि भएको भट्टराईको भनाई छ ।

डाँछी स्वास्थ्य चौकीमा १ हजार ७ सय बालबालीलाई खुवाउने लक्ष्य राखिएकोमा दुई दिनमै १ हजार ६ सय ५ जनालाई खुवाईसकिएको छ ।

त्यस्तै, गोठाटार स्वास्थ्य चौकी प्रमुख सजनी खड्का पनि लक्ष्य भन्दा निकै बढेको बताउनुहुन्छ । गोठाटारमा २ हजार २ सयको लक्ष्य राखिएकोमा दुई दिनमा २ हजार ९८७ बालबालिकालाई पोलियो थोपा खुवाईसकिएको छ ।

पोलियो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्ने तर ५ वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने डाक्टरको भनाइ छ।

यो रोगबाट सुरक्षित हुने एक मात्र उपाय भनेको पोलियोविरुद्धको खोप नै हो। सरकारले बालबालिकालाई राष्ट्रिय खोप तालिकामार्फत पोलियोविरुद्धको खोप नियमित रूपमा दिँदै आएको छ।