कीर्तीपुरका नगर प्रमुख नकर्मीको निधनप्रति कागेश्वरीका मेयर कार्कीद्धारा दुःख ब्यक्त, आइतबार शोक बिदा

थली: कागेश्वरी मनोहराका मेयर उपेन्द्र कार्कीले कीर्तिपुर नगरपालिकाका नगर प्रमुख राजकुमार नकर्मीको निधनप्रति दुख ब्यक्त गर्नु भएको छ । मेयर नकर्मीको बिहीबार राति निधन भएको थियो ।

मेयर कार्कीले एक वक्तव्य जारी गर्दै दुःखद् घडीमा दिवंगत नकर्मीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनमा गहिरो समवेदना ब्यक्त गर्नु भएको छ ।

‘कीर्तीपुर नगरपालिकाका नगर प्रमुख राज कुमार नकर्मीको असामयीक निधन भएकोमा कागेश्वरी मनोहरा नगरपालिका परिवार अत्यन्तै मर्माहत भएका छौ । यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गर्दै धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछौ,’ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, यस दुःखद् घडीमा काठमाडौं उपत्यका मेयर्स फोरमले शोक बिज्ञप्ति जारी गर्दै आइतबार काठमाडौै उपत्यकामा शोक बिदा दिने घोषणा गरे अनुसार नगरपालिकामा पनि आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको छ ।