पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तब्यहरुको पहिचान गर्ने कागेश्वरीको नीति, सबै वडा समेटेर पदमार्ग निर्माण गरिने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले पर्यटन प्रवद्र्धका लागि नयाँ पर्यकीय गन्तब्यहरुको पहिचान गर्ने भएको छ । नगरपालिकाभित्र पर्यटकहरुलाई आकर्षित गर्नका लागि नगरपालिकाभित्र नयाँ गन्तब्यहरुको खोजी गरि प्रवद्र्धन गरिने नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाभित्र कागेश्वरी महादेव मन्दिर, नवतनधाम, चम्पक विनायक मन्दिर, काष्ठभैरव मन्दिर, सिमतिर्थ, गीता मन्दिर, तेजविनायक गणेश मन्दिर,सिद्धकाली मन्दिर, महाँकाल भैरव मन्दिर, कोल्मतेश्वर, थली बालकुमारी मन्दिर साथै अन्य देवी–देवता, गुम्बाहरु जस्ता स्थलहरु रहेका छन् ।

त्यसै गरी नगरपालिका अन्तर्गत पर्ने मुख्य नदीहरु बाग्मती र मनोहरा रहेका छन् भने सोकोसाथै साना खोलाहरु वासुकी, झरुवा, ढकाल, कागेश्वरी, महादेव लगायत नियमित पानीको वहाव रहने अन्य साना खोल्सा खोल्सीहरु समेत रहेका छन् । धार्मिक तथा पर्यटकीय गन्तब्यहरुको थप पहिचानलाई प्राथमिकतामा राखेको नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिनु भयो ।

पर्यटन प्रवद्र्धनका लागि वडा नं १ देखी ९ सम्म पर्यटकीय पदमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने नगरपालिकाको नीति रहेको छ । यस्तै वडा नं १ को माथिल्लो भेगमा रहेका बस्तीहरुलाई एकीकृत घरबासको रुपमा विकास गरि विकेण्ड रिफ्रेसमेन्ट एरीयाको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य छ ।