मूलपानी नगर अस्पतालमा बिरामीको चाप बढ्दो, एक वर्षमा ६६ हजार भन्दा बढीले लिए स्वास्थ्य सेवा, ४ करोड ४३ लाख आम्दानी

मूलपानी: कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी नगर अस्पतालमा बिरामीको संख्या दोब्बर भन्दा धेरैले बृद्धि भएको छ । विगतका वर्षभन्दा यो वर्ष बिरामीको संख्या दोब्बर भन्दा धेरैले बढेको हो ।

आर्थिक वर्ष २०८०÷०८१ मा ६६ हजार भन्दा बढीले अस्पतालमा उपचार गराएका छन् । जबकी अघिल्लो आर्थिक वर्ष ०७९÷ ०८० मा २९ हजार ५०६ जना बिरामीले उपचार गराएका थिए । मासिक २ हजार ५ सयको हाराहारीमा बिरामी आउने अस्पतालमा गत आर्थिक वर्षमा मासिक १३ हजारसम्म बिरामी उपचारका लागि आएका छन् ।

नगर अस्पतालमा उपचारका लागि आउने बिरामी बढेसँगै आम्दानीमा समेत दोब्बर भन्दा बढीले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष ०७९÷०८० मा विभिन्न शीर्षकमार्फत १ करोड ८७ लाख ३७ हजार आम्दानी गरेको अस्पतालले गत आर्थिक वर्षमा ४ करोड ४३ लाख ५२ हजार ८७७ रुपैयाँ आम्दानी गरेको छ । अस्पतालले यो वर्ष अघिल्लो आर्थिक वर्षभन्दा २ करोड ५६ लाख १५ हजार ८७७ रुपैयाँ बढी आम्दानी गर्न सफल भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानी नगर अस्पतालको मुहार फेरिन थालेको छ । नगरपालिकामा हाल एक नगर अस्पतालसहित ५ वटा हेल्थपोस्ट, ३ शहरी स्वास्थ्य केन्द्र, १ आधारभूत अस्पताल, १ आयुर्वेद औषधालय रहेका छन् ।
नगर अस्पतालमा बहिरंग, अन्तरगं, इमर्जेन्सी, दन्तरोग, आखाँ उपचार र बर्थिङ सेवा, सामान्य चिरफार, सुरक्षित गर्भपतन सेवा र निशुल्क क्षयरोगको उपचार हुँदै आएको छ ।

त्यस्तै, प्रबर्धनात्मक सेवा अन्तर्गत परिवार नियोजन, पोषण कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, नियमित खोप कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, स्वास्थ्य सेवा शिविर र महिला स्वास्थ्य स्वयमसेवीका कार्यक्रम सञ्चालन हुँदै आएको छ । साथै अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम समेत लागू भइसकेको छ ।

त्यस्तैगरि, नगर अस्पतालमा इमर्जेन्सी, एक्सरे, ल्याब, फार्मेसी, बथिङं, एम्बुलेन्स र बीमा सेवा २४ सौ घन्टा उपलब्ध हुँदै आएको छ । विशेषज्ञ सेवा अन्तर्गत सामान्य चिकित्सक, हाड जोर्नी , प्रसूति तथा स्थीरोग , बालरोग, अल्टासाउण्ड र फिजियोथेरापी, , छालारोग , मनोचिकित्सक, नाक, कान, घाँटी सेवा सञ्चालन हुँदै आएको छ ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएको नगर प्रमुख उपेन्द्र कार्कीले कागेश्वरी नगर अस्पताललाई नमुना र उदाहरणीय बनाउने उद्देश्य अनुरुप अगाडि बढिरहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा भएको लगानी सकारात्मक र परिणामुखी बन्दै गएको मेयर कार्कीको भनाई छ । मेयर कार्कीले अस्पताल सुधारमा धेरै प्रयास भएको र यसलाई अझ ब्यापक रुपमा सुधार गर्ने योजना रहेको बताउनुभयो । अस्पतालमा सुधार भइरहे पनि नगरबासीले अनूभूति हुने गरि सेवा प्रवाह गर्न भने आवश्यक रहेकोमा उहाँको जोड छ ।

१७ रोपनी ५ आना क्षेत्रफलमा फैलिएको नगर अस्पताल बिं.सं २०५१ सालमा मूलपानी उपस्वास्थ्य चौकीको नाममा स्थापना भई २०५३ मा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा विस्तार हुँदै २०७४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्तिमा १५ सैया सम्मको आधारभूत अस्पतालको रुपमा संचालन गर्ने निर्णय अनुरुप नगर अस्पतालमा परिणत भएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ६ बाबाचोकमा अवस्थित अस्पताल विगत ३० वर्षदेखि अनवरत विस्तारीत सेवा मार्फत अघि बढिरहेको छ । अस्पतालमा १५ बेड भएता पनि ५० बेड सम्मकाे क्षमताकाे स्तरमा छ ।