कागेश्वरी महादेव मन्दिरमा भोलि मेला लाग्दै, नगरपालिका भर सार्वजनीक बिदा

गागलफेदी: कागेश्वरी मनोहरा नगरपालिकाले बुधबार सार्वजनीक बिदा दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा मेला लाग्ने दिनको अवसरमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द हुने बताउनुभयो ।

वडा नंं १ गागलफेदी स्थित कागेश्वरी धाममा प्रत्येक वर्ष भदौ शुक्ल अष्टमी (कागे अष्टमी) मा लाग्ने कागेश्वरी मेलाको अवसरमा नगरपालिका कार्यालय अन्तर्गतका वडा कार्यालय, नगर अस्पताल, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयमा सार्वजनीक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मिश्रले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।

नगरपालिकाको नामै कागेश्वरी मन्दिरको नामबाट रहेकाले नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्दै लगेको छ । नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मन्दिर जान यातायात सहज बनाइएकाले मेलामा सहभागि हुन आग्रह गर्नु भएको छ । मन्दिरमा पूजा आराधना गर्न काठमाडौँ उपत्यका र यस वरपरका जिल्लाबाटसमेत लाखौँ भक्तजन आउने गर्दछन् ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेका गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो । कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ ‘स्वस्थानी व्रतकथा’मा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । यस क्षेत्रबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ ।