कागेश्वरी महादेव मन्दिरमा लाखौ भक्तजनले गरे दर्शन, झाँकीदेखि स्थानीय उत्पादनसम्मको प्रदर्शन (फोटोफिचर)

काठमाडौं: ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण कागेश्वरी मेलामा लाखौँ भक्तजनले दर्शन गरेका छन् । वडा नंं १ गागलफेदी स्थित कागेश्वरी धाममा प्रत्येक वर्ष भदौ शुक्ल अष्टमीमा मेला लाग्दै आएको छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा कागले गाईको दूध पहरामा रहेको शिवलिङ्गमा चढाउँदै गरेको गोठालाले देखेको विश्वासका आधारमा वर्षेनी मेला लाग्दै आएको हो । कागे अष्टमीमा धाममा गई हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास छ ।

सत्ययुगमा सतीदेवीको अङ्ग पतन भएर यहाँ एक शिवलिङ्ग उत्पन्न भएको भनाइ ‘स्वस्थानी व्रतकथा’मा उल्लेख छ । कागेश्वरी महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवं झरनाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ ।

यस क्षेत्रबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकनसमेत गर्न सकिन्छ ।

मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।

यसै मन्दिरको समेत नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ । यस पर्वका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले मन्दिरलाई धार्मिक पर्यटकीय तिर्थस्थलको रुपमा विकास गर्दै लगेको छ ।

मेलाका अवसरमा तामाङ एवं नेवार समुदायको सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनको समेत प्रदर्शन गरिएको छ ।

कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर आउन नसक्ने भक्तजनले हनुमानढोका र पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् ।