खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छोड्नुपर्ने फैसला तत्काल पुनरावलोकन गर्न कांग्रेस काठमाडौं क्षेत्र नंं २ को माग, नभए सशक्त आन्दोलन गर्ने निर्णय

काठमाडौं: नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंं २ ले उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन नभए सशक्त प्रतिवादमा उक्रने चेतावनी दिएको छ ।

क्षेत्रीय सभापति कविर शर्माको सभापतीत्वमा क्षेत्रीय कार्यालय थलीमा बसेको बैठकले जनताको सम्पत्तिको संरक्षण गर्न सबै सरोकारवाला निकायसँग सम्वाददेखि आन्दोलन सम्ममा जाने निर्णय गरेको हो ।

बैठकले बागमती र यसका सहायक नदी किनार संरक्षण गर्न भनी आएको २०८० पौष ३ गतेको सर्वोच्च अदालतको फैसलाको विषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

साथै यसअघि कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा बसेको उपत्यका मेयर्स फोरमको दसौ बैठकले अदालतको फैसला पुनरावलोकन हुनुपर्ने निर्णय गरेकोमा धन्यवाद समेत ज्ञापन गरेको छ ।

‘विगतका समयमा नेपाल सरकारले निर्धारण गरेको मापदण्डका आधारमा नेपाल सरकारका निकायहरुले जमीनको कित्ताकाट, खरिद विक्री, स्वामित्व हस्तान्तरण, धितो कायम जस्ता कारोवार समेत हुँदै आएको र सोहि आधारमा स्थानीयहरुले स्वामित्व ग्रहण गरी ऐन कानून बमोजिम हक कायम भई आएकोमा हाल सम्मानीत अदालतवाट भएको उक्त फैसलाले प्रचलित मापदण्डमा थप २० मीटर निर्धारण गरेबाट विगतको सरकारी मापदण्ड विपरित हुन गई आजीवन संघर्ष गरी कमाएको सम्पत्तिवाट खरिद गरिएको जग्गाको स्वामित्ववाट काठमाण्डौं उपत्यकामा बसोवास गर्ने सर्वसाधारण जनता विमुख हुने अवस्था सृजना भई गम्भिर मारमा पर्न जाने हुँदा सम्मानीत सर्वोच्च अदालतको उक्त फैसला पुनरावलोकनका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछौं’, निर्णयमा भनीएको छ ।

त्यस्तै, नेपाल सरकार बाग्मती प्रदेश पर्यटन तथा संस्कृति मन्त्रालय द्वारा आउँदो असोज ११ गते पर्यटन दिवसको अवसरमा शंखरापुरमा आयोजना हुने कार्यक्रम सफल बनाउन नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ अन्तर्गत सबै इकाइ परिचालन गर्ने निर्णय गरेको छ । साथै विजया दशमी, शुभ दिपावली , नेपाल संवत , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम असोज १९ गते शनिबारका दिन गर्ने तय गरेको छ ।

बैठकले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ कार्यसमितिमा पर्शुराम विष्ट र पार्वती भण्डारीलाई क्षेत्रीय सदस्य मनोनयन गर्ने निर्णय गरेको छ भने ईश्वरी प्रसाद दंगाल, श्रीराम खड्का, कमल भट्टराई, उपेन्द्र खड्का, अनिल शर्मा ढकाल, सुभाष रिमाल र नुच्छे नारायण श्रेष्ठलाई आमन्त्रित क्षेत्रीय सदस्यमा मनोनीत गरेको छ ।

त्यस्तै, क्षेत्रीय सचिव तथा कागेश्वरी मनोहरा वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापाको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।