कागेश्वरी मनोहरा नगरपालिकामा खुल्यो ‘शिक्षक बैंक’

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाले पढाउने शिक्षकहरूको बैंक सञ्चालनमा ल्याएको छ । नगरपालिका भित्रका सार्वजनिक विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकको संख्या कम भै शिक्षण सिकाइ कार्यमा बाधा पर्न गएको भन्दै सो समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले शिक्षक बैंक सुरू गरेको हो ।

नगरपालिकाले शिक्षक बैंक स्थापना र ब्यबस्थापन कार्यविधि २०८१ बमोजिम इच्छुक, दक्ष र योग्य नागरिकलाई शिक्षण सिकाई कार्यमा सहभागी गराई शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक स्वयंसेवक आंशिक सट्टा शिक्षकको रुपमा नियुक्त गर्ने प्रयोजनका निम्ति शिक्षक बैंक स्थापना गरिएको शिक्षा शाखाका प्रमुख पुष्पराज ढकालले जानकारी गराउनुभयो ।

नगरपालिकाले शिक्षक बैंकको लागि सूचिकृत हुन योग्यता भएर बसेका व्यक्तिहरुलाई लक्षित गरेर सूचना आह्वान गरेको छ । योग्यता पुगेका उम्मेवारले १५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । नगरपालिकामा १६ वटा सामुदायिक विद्यालय छन् भने ५० हजारभन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

ती सामूदायिक विद्यालयहरूमा शिक्षक अभावको बेला पूर्ति गर्न र नियमितअतिरिक्त क्रियाकलाप सञ्चालनको लागि शिक्षक बैंकमार्फत् शिक्षक परिचालन गर्ने कार्यक्रम नगरपालिकाले बनाएको नगरप्रमुख उपेन्द्र कार्कीले बताउनुभयो । शिक्षक ब्यबस्थापन र सो कार्यक्रम संचालनका लागि नगरपालिकाले चालु आवको लागि करिव एक करोड खर्च गर्ने योजना बनाएको छ ।

जुनसुकै विद्यालयमा शिक्षक आवश्यकता पर्ने वित्तिकै ‘फास्ट ट्रयाक’ विधिबाट शिक्षक सप्लाई गर्न सकिने यो कार्यक्रम मुलुककै नमूना कार्यक्रम हो । यो नयाँ अवधारणा र नयाँ प्रयोग पनि हो, यो विधिलाई कार्यान्वयन गर्दा कुनै पनि विद्यालयमा शिक्षक खाली हुने अवस्था नआउने मेयर कार्कीको विश्वास छ ।

शिक्षक बैंकमा रहेर अध्यापन गर्ने शिक्षकहरुले तहअनुसार दैनिक ज्यालादारीको हिसाबले पारिश्रमिक प्राप्त गर्न सक्छन् ।