बिरेन्द्रचोक: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नंं ७ र ९ को केन्द्रमा रहेको विरेन्द्र चोकमा अत्याधुनिक प्रविधिको सडक बत्ती जडान गरिएको छ । नगर उज्यालो कार्यक्रममार्फत उज्यालो र सुरक्षा दुवैलाई मध्यनजर गरी सडक बत्ती जडान गरिएको छ ।
लक्ष्मी पुजाको अवसरमा बिहीबार नगर प्रमुख उपेन्द्र कार्कीले जडित हाइ–मास्ट लाइटको औपचारिक उद्घाटन गर्नुभयो । अग्लो र धेरै क्षेत्र समेटने हाइ–मास्ट लाइट सेन्सरमा आधारित छ । अँध्यारो हुँदै गए आफैं बल्ने र उज्याले भए आफै निभ्ने उक्त लाइटले २०० मिटर वरपरको भागलाई उज्यालो दिन्छ ।
सो अवसरमा नगर प्रमुख कार्कीले नगरभरिका सबै मुख्य मुख्य चोकमा सडक बत्ती जडान गर्नका लागि डिपीआर तयार पारि सोही अनुरुप अगाडि बढिरहेको बताउनुभयो ।
सडक बत्ती जडानका लागि १८ करोड बजेटको अनुमान गरिएको छ । डिपीआर अन्तर्गत नगरका विभिन्न ठाउँमा प्याकेजको रुपमा कार्य अगाडि बढाइने मेयर कार्किले बताउनुभयो । सडक बत्ती जडान कार्य नगरपालिकाले टोलहरुसँगको साझेदारीमा अगाडि बढाउने नीति लिएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि सिसी टिभी र सडक बत्ती जडानका लागि ४ करोड तथा टोल सुधार समितिहरुसँग साझेदारीका लागि १ करोड गरि ५ करोड बजेट समेत विनियोजन गरिएको छ ।
कार्यक्रममा नगर उपप्रमुख शान्ता थापा, वडा नं ७ का वडाध्यक्ष भिमसेन थापा, वडा नंं ९ का वडाध्यक्ष अनील थापा, वडा नंं ७ का वडा सदस्य भक्त थापालगायतले बोल्नु भएको थियो ।
उद्घाटन कार्यक्रममा वडा नंं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिका दलका प्रतिनिधिहरु, प्रहरी र स्थानीयबासीको सहभागिता रहेको थियो ।