कागेश्वरी-मनोहरा पर्यटन महोत्सवको तयारी तीब्र

गागलफेदी: कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १ मा रहेको प्रशिद्ध तीर्थस्थल कागेश्वरी मन्दिर परिसरमा मनाइन लागिएको ११ औं कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ को तयारी तीब्र पारिएको छ ।

कागेश्वरी धाम क्षेत्रलाई प्रचारप्रसार गरी बाह्य एवम् आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरेको नगरपालिकाले तयारी तीब्र बनाएको हो ।

नगर प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष हरिभक्त पुडासैनीका अनुसार यही फागुन ७ गते मनाइने ११ औं पर्यटन महोत्सवको आवश्यक तयारी भइरहेको हो ।

महोत्सव सफल पार्न नगरप्रमुख उपेन्द्र कार्कीको संयोजकत्वमा आयोजक समिति गठन गरिएको पनि प्रवक्ता पुडासैनीले जानकारी दिनुभयो । समितिको सहसंयोजकमा उप प्रमुख शान्ता थापा, सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र ९ वटै वडाका अध्यक्षहरु पदेन सदस्य रहेका छन् । त्यस्तै, विभिन्न उपसमिति पनि बनाइएको छ ।

महोत्सवमा बढीभन्दा बढी दर्शक र भक्तजनहरु भित्र्याउने लक्ष्य लिइएको छ । नगरले कार्यक्रमलाई भब्य रुपमा सफल पार्न सबै सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरिरहेको छ ।

महोत्सवमा स्थानीय उत्पादनका साथै ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति रहने छ भने भजन, कीर्तन, विभिन्न साहित्यिक कार्यक्रम एवं झाक्रीहरू प्रस्तुत हुनेछन् ।