
काठमाडौं (गोठाटार) । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ मा रहेको असाहय गाईबाछा संरक्षण अभियानमा कांग्रेसका पूर्व महामन्त्री डा. शंशाक कोइरालादेखि सांसद र मेयरहरुले साथ दिनु भएको छ । उत्तम पुडासैनी नेतृत्वमा विगत ६ वर्षदेखि सडकमा छाडिएका असाहय गाईबाछालाई आश्रय दिदै गाईबाछा संरक्षण अभियान संचालन हुँदै आएको छ ।

सो अभियानलाई साथ दिदै कांग्रेसका नेता कोइरालासहित समाजसेवी हरिबोल भण्डारी, प्रतिनिधिसभा सांसद दिपक गिरी, विष्णुदेवी पुडासैनी, छिरिगं दोर्जे लामा, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिजाल, कागेश्वरी नगरपालिकाका प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनीसहितको टोलीले अभियान संचालन गरिएको स्थानको अवलोकन गर्नु भएको छ ।

सो क्रममा डा. कोइरालाले समाजसेवा र मानवीय काम गर्न मनैबाट लगाव हुनुपर्ने बताउनुभयो । समाजसेवा गर्नका लागि मान्छेको रंग र ढंग होइन मन बदलिनुपर्ने बताउनुहुँदै कोइरालाले राष्ट्रिय जनावर गाईको संरक्षण अभियान थालेकोमा प्रशंसा गर्नुभयो । साथै उहाँले यसमा आफूले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै, असाहय गाईबाछा संरक्षण अभियानलाई साथ दिदैं कांग्रेस महासमिति सदस्य तथा समाजसेवी हरिबोल भण्डारीले बुधबार मात्र ३० बोरा पिठो सहयोग गर्नु भएको थियो ।

सो अभियान अन्तर्गत २७१ वटा गाई बाछालाई आश्रय दिई राखिएको संचालक पुडासैनीले बताउनुभयो । उहाँका अनुसार गाई बाछाको लागि कम्पोष्ट मलहरु बनाएर बेच्ने र धेरै जसोले जन्म दिन वा कुनै अवसरमा गाई बाछालाई सहयोग गर्दै आएका छन् ।