
काठमाडौं (फोर्सपार्क): कागेश्वरी मनोहरा नगरपालिकामा पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति पार्क निर्माण गरिएको छ । वडा नंं ७ स्थित फोर्सपार्क चोकमा मनमोहन स्मृति पार्क निर्माण गरिएको हो । बुधबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले पार्कको उद्घाटन गर्नुभयो ।

नगरपालिकाका उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, नगरपालिकाका नगर प्रवक्ता तथा वडा नंं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनी, वडा नंं ६ का वडाध्यक्ष प्रकाश फुयाल, वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापासहित जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयको सहभागितामा उद्घाटन गरिएको हो ।

सोही अवसरमा थापाचोकमा निर्मित पूर्ण विनायक प्रतिक्षालयको समेत उद्घाटन गरिएको छ । पूर्ण विनायक मार्ग उपभोक्ता समितिद्धारा मौलिक एवं कलात्मक ढंगबाट फाल्चा र पार्क निर्माण गरिएको हो ।

नगर प्रमुख उपेन्द्र कार्कीले प्रजातन्त्र दिवसको दिन सादगी जीवन विताउनु भएका पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीको स्मृति पार्कको उद्घाटन गर्न पाउँदा गौरवान्भित महसुस भएको बताउनुभयो ।

मेयर कार्कीले नगरपालिकाले सहरी सौन्दर्यकीकरणमा अगाडि बढिरहेको बताउँदै एक वडा, एक पार्क, सार्वजनीक सम्पत्तिको संरक्षण, उज्यालो नगर, सुरक्षित नगर नाराका साथ मुख्य मुख्य चोकमा आगामी दुई वर्षभित्र सडक बत्ती र सिसी क्यामेरा जडान गरिसक्ने बताउनुभयो ।

उपप्रमुख शान्ता थापाले स्वर्गीय मनमोहन अधिकारीको स्मरण गर्नुहुँदै पार्क निर्माण हुनु अत्यन्तै सराहनीय कार्य भएको बताउनुहुँदै र आगामी दिनमा यसको संरक्षण गर्दै लग्नुपर्नेमा जोड दिनुभयो ।

वडा नंं ७ का वडाध्यक्ष भिमसेन थापाले सार्वजनीक जग्गाको संरक्षण गर्ने सिलसिलामा साविक पूर्णविनायक युवा क्लव र फोर्स गाडी पार्किङ गर्दै आएको ठाउँको संरक्षण गर्दै मनमोहन स्मृति पार्क निर्माण गरिएको बताउनुभयो ।

वडाध्यक्ष थापाले पार्कको ऐतिहासिक नामकरण भएसँगै अन्नत कालसम्म यसको संरक्षण, प्रबद्र्धन गर्दै लगिने बताउनुभयो । साथै आगामी असार १५ गते मोहनमोहन अधिकारीको जन्म जयन्तीको अवसरमा अर्धकदको शालिन निर्माण गरि अनावरण गरिने पनि जानकारी गराउनुभयो ।

वडा नंं ८ का वडाध्यक्ष हरिभक्त पुडासैनीले सामाजीक, राजनीतिक सद्भावसँगसँगै फल्चासहितको पार्क निर्माण भएकोमा खुसी ब्यक्त गर्नुभयो । सार्वजनीक जग्गा संरक्षण गरिरहँदा सामुदायिक भवन निर्माण गर्ने भन्दा पनि कला संस्कृतिलाई पुर्नजागरण गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले वडा नंं ७ मा भिमसेन थापा नेतृत्वमा रानीधारा जीर्णेद्धार, फल्चा, प्रतिक्षालय र पार्क निर्माण गरेजस्तै अन्य वडाले पनि पाठ सिक्न आवश्यक रहेको बताउनुभयो ।

मनमोहन अधिकारीको बुहारी शान्ति अधिकारीले नेपालको इतिहासमा मनमोहन, विपी कोइराला र गणेशमान सिंहलाई कहिल्यै बिर्सन नसक्ने बताउनुभयो । मोहनमोहन अधिकारीको सम्झनाका लागि स्मृति पार्क र निर्माण भएकोमा खुसी ब्यक्त गर्नुहुँदै पार्क निर्माणमा योगदान गर्नुहुने सबैप्रति आभार प्रकट गर्नुभयो ।

नेपाली कांग्रेस क्षेत्र नंं २ का क्षेत्रीय सभापती कविर शर्मा र नेपाल माओवादी केन्द्र काठमाडौंका सचिव महेश्वर फुयालले कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरुले वाचा गरेका प्रतिबद्धता पूरा गर्दै जनताको भावनालाई कदर गरेर अगाडि बढिरहेकोमा खुसी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य शंकर थापा, कांग्रेस कागेश्वरी मनोहराका नगर सभापति उद्धव दाहाल, नेकपा एमाले कागेश्वरी मनोहरा नगर अध्यक्ष ज्योतिराम फुयाल, नेकपा एकीकृत समाजवादीका कागेश्वरी मनोहरा नगरर अध्यक्ष राजन थापालगायतले स्मृति पार्क निर्माण हुनु अत्यन्तै राम्रो कार्य भएको बताउनु भएको थियो ।

सो अवसरमा पूर्व सेनानी तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको अंगरक्षक भक्त बहादुर खत्री, मिलीजुली सेवा समाजका अध्यक्ष शिवराम रायमाझी र पूर्ण विनायक उपभोक्ता समितिका गणेश प्रसाद निरौला, निर्माण ब्यवसायी श्याम शिल्पकार र तुलसी राम ढुकुछुलाई सम्मान गरिएको थियो ।

वडा नंं ७ का कार्यवाहक वडाध्यक्ष भक्त थापाले स्वागत गर्नु भएको कार्यक्रममा वडा नंं ७ का वडा सचिव बासुदेव थापाले संचालन गर्नु भएको थियो ।
































